२० भदौ, काठमाडौँ। अमेरिकी संघीय अदालतले गुगललाई लाखौं प्रयोगकर्ताहरूको गोपनीयता भंग गरेको ठहर गर्दै ४२ करोड ५० लाख डलर (करिब ५६ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ ।
लगभग ९ करोड ८० लाख प्रयोगकर्ताको डेटा चोरी भएको आरोपमा सन् २०२० को जुलाईमा दायर गरिएको मुद्दामा अदालतले यो फैसला सुनाएको हो । मुद्दा दर्ता गर्ने पक्षले ३१ अर्ब डलर क्षतिपूर्ति माग गरेका थिए । यद्यपि, अदालतले ४२ करोड ५० लाख डलर जरिवाना तोकेको छ । वादीहरूले गुगलले व्यक्तिगत जानकारी सङ्कलन गरे पनि त्यसको सुरक्षा गर्न नसकेको र दुरुपयोग भएको आरोप लगाएका थिए ।
यता, गुगलले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै यस फैसलाको विरुद्धमा पुनरावेदन गर्ने घोषणा गरेको छ । कम्पनीले आफू सधैँ प्रयोगकर्ताको गोपनीयताको रक्षा गर्न प्रतिबद्ध रहेको तर्क पनि अघि सारेको छ ।















