२० भदौ, काठमाडौँ। नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएसँगै फेसबुकपछि अब ट्वीटर (हाल एक्स) पनि सरकारको सम्पर्कमा आएको छ।
सरकारी निर्णयसँगै सेवा अवरुद्ध हुन थालेपछि ट्वीटरले नेपालमा सूचीकरण प्रक्रियाबारे जानकारी मागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार, ट्वीटरको सिङ्गापुरस्थित कार्यालयबाट मन्त्रालयलाई इमेल प्राप्त भएको छ। उक्त इमेलमा नेपालमा सामाजिक सञ्जाल दर्ता गर्ने प्रक्रियाबारे जानकारी माग गरिएको छ।
मन्त्रालयले ट्वीटरलाई आवश्यक सबै जानकारी पठाइसकेको छ। यदि ट्वीटरले आवश्यक विवरणसहित सूचीकरणका लागि निवेदन दिएमा त्यसलाई निष्क्रिय सूचीबाट हटाइने प्रवक्ता ठाकुरले बताएका छन् ।
नेपालमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारले ‘सामाजिक सञ्जालको प्रयोग निर्देशिका, २०८०’ जारी गरेको थियो, जसअनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालहरूले दर्ता हुनु अनिवार्य छ। सरकारको यो कदमपछि ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूले नेपालको कानुन मान्ने चासो देखाउन थालेका छन्।















