Logo

२४ भदौ वीरगञ्ज । सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा जारी कर्फ्यू थप गरेको छ। प्रशासनका अनुसार आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू लागू हुने भएको हो ।

गए राति ९ बजेदेखि लागू गरिएको कर्फ्यू आज बिहान ९ बजे सकिएपछि शहरमा चहलपहल बढेको थियो। तर विभिन्न चोकमा युवाहरू भेला भई सरकारविरुद्ध नाराबाजी सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू अवधि थपिएको प्रमुख जिल्ला अधिकारी तोपनारायण सुवेदीले जानकारी दिए ।

कर्फ्यू अवधिभर तोकिएको क्षेत्रभित्र आवत–जावत, सभा, जुलुस, प्रदर्शन, बैठक तथा कुनै पनि प्रकारका भीडभाड गर्न प्रतिबन्ध लगाइएको छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी चारवटा सीमाना तोकिएको छ । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक, दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यू लागु गरिएको छ ।

अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई भने कर्फ्यू आदेशबाट छूट दिइएको छ। एम्बुलेन्स, दमकल, पानी ट्याङ्कर, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सवार सवारीसाधन, सञ्चारकर्मी, पर्यटक, मानवअधिकारकर्मी सवार सवारीसाधन, कूटनीतिक निकायका सवारीसाधन, हवाई टिकट देखाएर यात्रामा निस्किएका यात्रुका सवारीसाधन लाई छुट दिइएको पर्साका प्रमुख जिल्ला अधिकारी तोपनारायण सुवेदीले बताए ।


सम्बन्धित समाचार