२९ भदौ, काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ नेपालले जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलनमा भएको दमन, युवाहरूको मृत्यु र हजारौं घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
आइतबार संघले जारी गरेको विज्ञप्तिमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। संघले हालको परिस्थितिलाई मुलुकमा सुशासनको अभाव, दलगत सत्ता संघर्ष, नागरिक आवाजलाई बेवास्ता गर्ने प्रवृत्ति र संविधानका मर्मलाई कमजोर बनाउने अभ्यासको परिणामका रूपमा चित्रण गरेको छ। लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र नागरिक सर्वोच्चताको पक्षमा सामुदायिक रेडियोहरू निरन्तर प्रतिबद्ध रहेको संघले स्पष्ट पारेको छ।
आन्दोलनकै क्रममा बुटवलस्थित रेडियो जागरणमा आगजनी र तोडफोड, इलामको नेपालीवाणी एफएम कार्यालयमा तोडफोड तथा दार्चुलास्थित सामुदायिक रेडियो लोकदर्पणको कार्यालयमा युवाहरूको समूह प्रवेश गरी तोडफोड र रेडियोकर्मीलाई धम्की दिने घटनाप्रति संघले घोर निन्दा र भर्त्सना गरेको छ। संघका अनुसार यस्ता गतिविधिले सामुदायिक सूचनाको हकमै आघात पुगेको छ।
संघले सरकारले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, सामुदायिक रेडियो तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने र प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने आह्वान गरेको छ। साथै आन्दोलनमा शहीद भएका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र जीविकोपार्जन सुनिश्चित गर्न, उच्चस्तरीय छानबिन आयोग गठन गर्न, युवापुस्ताले उठाएका मुद्दा सम्बोधन गर्न तथा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा तत्काल सुधार गर्न माग गरिएको छ।
कार्यवाहक अध्यक्ष गोविन्द देवकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन निष्पक्ष र पारदर्शी निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक वातावरण बनाइदिन सरकार, राजनीतिक दल, नागरिक समाज र सरोकारवालासँग आग्रह गरिएको छ। संघले सामुदायिक रेडियोहरूको आवाज सधैं नागरिक, लोकतन्त्र र शान्ति–समृद्ध नेपालका पक्षमा रहने स्पष्ट पारेको छ।















