९ असार, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का कम्तीमा ५० भन्दा बढी स्थानमा एकैपटक ‘बर्डफ्लु’ (एच फाइभ एन वान) तीव्र रूपमा फैलिएपछि नियन्त्रणमा गम्भीर चुनौती थपिएको छ ।
पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको चारवटा विशेष टोली परिचालन गरी संक्रमण पुष्टि भएका फार्म तथा क्षेत्रमा कुखुरा र हाँसहरू नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ।
विभागको एभियन इन्फ्लुएन्जा नियन्त्रण तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले उपत्यकामा अहिलेसम्मकै अत्यधिक संख्यामा बर्डफ्लु पुष्टि भएको जानकारी दिए । “अहिलेसम्म उपत्यकामा ५० भन्दा बढी स्थानमा संक्रमण देखिइसकेको छ । व्यवसायिक फार्म मात्र नभई स-साना घरमा पालिएका लोकल कुखुरामा समेत बर्डफ्लु देखिएकाले नियन्त्रणमा कठिनाइ भइरहेको छ,” डा. उपाध्यायले भने ।
गत फागुनमा पूर्वी नेपालबाट सुरु भएको यो प्रकोप अहिले ललितपुरको सदर चिडियाखानासम्म पुगेको छ । संक्रमणका कारण चिडियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस र सारसलगायत दर्जनौँ रैथाने तथा विदेशी पन्छीहरू मरिसकेका छन् । जंगली बिरालो र सिभेट जस्ता स्तनधारी जनावरमा समेत भाइरस पुष्टि भएपछि प्रशासनले शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ ।
चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले परिस्थितिलाई नजिकबाट नियालिरहेको र संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाइएको बताए । चिडियाखानामा जैविक सुरक्षा (बायो-सेक्युरिटी) मा भएको लापरवाहीका कारण बाहिरबाट पस्ने काग र जंगली चराहरूबाट यो भाइरस फैलिएको अनुमान विभागको छ । सुरुमा चराहरू मर्दा घटना लुकाउन खोजेको भन्दै चिडियाखाना प्रशासनको आलोचनासमेत भएको छ । सरकारले यसबारे विस्तृत छानबिनका लागि टोली गठन गरिसकेको छ ।
महामारीका कारण हालसम्म देशका कम्तीमा १० जिल्लामा ६ लाखभन्दा बढी कुखुरा, लाखौँ गोटा अण्डा र ठुलो परिमाणमा दाना नष्ट गरिएको छ । कोशी प्रदेशमा ए (एच नाइन एन टु) भाइरसले क्षति पुर्याएको भए पनि उपत्यकामा भने घातक मानिएको ए (एच फाइभ एन वान) प्रजातिको भाइरस सक्रिय छ ।
बर्डफ्लु नियन्त्रणको स्थापित निर्देशिका (प्रोटोकल) अनुसार संक्रमित क्षेत्रमा सबै पन्छी र दाना नष्ट गरिसकेपछि उक्त स्थानलाई निसंक्रमण (डिसइन्फेक्ट) गरी ४२ दिनसम्म मानिसको आवतजावत पूर्ण रूपमा बन्द गर्नुपर्छ । तर, हाल उपत्यकाको घनाबस्तीभित्रै संक्रमण फैलिएकाले न त निसंक्रमण प्रभावकारी हुन सकेको छ, न सर्वसाधारणको आवतजावत नै रोक्न सम्भव भएको छ । यसले गर्दा जनस्वास्थ्यमा समेत जोखिम बढेको छ ।
सन् २००९ मा नेपालमा पहिलो पटक बर्डफ्लु देखिएयता लगभग हरेक वर्ष यो समस्या दोहोरिने गरेको छ । तर, सरकारले राहत र क्षतिपूर्ति वितरणमा गर्ने ढिलाइका कारण किसानहरू मर्कामा छन् ।
यो वर्ष पनि महिनौँ बितिसक्दा प्रभावित कुखुरापालक किसानले क्षतिपूर्ति रकम पाएका छैनन् । समयमै क्षतिपूर्ति नपाउँदा किसानहरूले घाटा कम गर्न संक्रमित कुखुरा नै लुकिछिपी बजारमा बेच्न सक्ने र त्यसले महामारीलाई झन् भयानक बनाउने जोखिम रहेको विज्ञहरूको चेतावनी छ । नेपालमा यसअघि सन् २०१९ मा काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लुकै कारण मृत्यु भएको तथ्य छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् । “कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाएमा बर्डफ्लु मानिसमा सर्दैन, त्यसैले उपभोग गर्दा डराउनु पर्दैन,” डा. पुनले स्पष्ट पारे ।
तर, कुखुरा फार्ममा प्रत्यक्ष काम गर्ने मजदुर, ओसारपसारमा संलग्न चालक, मासु काट्ने र मासु पसलमा बस्ने व्यक्तिहरू संक्रमणको उच्च जोखिममा रहने भएकाले उनीहरूले पञ्जा, मास्क र विशेष सावधानी अपनाउनु अनिवार्य रहेको डा. पुनको सुझाव छ ।















