Logo

देउवा निवास

३० भदौ, काठमाडौँ । भाद्र २३ गते भएको सरकारी दमनको प्रतिशोधमा जेन-जी प्रदर्शनकारीले राजधानीदेखि जिल्लासम्म अभूतपूर्व विध्वंस मच्चाएका छन् । प्रदर्शनकारीको आक्रोशको निसाना सरकारी भवनदेखि राजनीतिक दलका शीर्ष नेताको निवास र पार्टी कार्यालयसम्म पुगेको छ ।

भाद्र २४ गते चार-पाँच घण्टासम्म चलेको प्रदर्शनमा संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतसहितका प्रमुख सरकारी संरचना तहसनहस भए । यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कार्यालयमा आगजनी भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा शारीरिक आक्रमणमा परेर गम्भीर घाइते भएका छन् र अहिले उपचाररत छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको काठमाडौं र झापास्थित निवास, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता रमेश लेखकको घर पनि खरानी बनेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘केन्द्रीय पदाधिकारी र सदस्य गरी ४० जनाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको विवरण आएको छ,’ पौडेलले बताए, ‘तर कांग्रेस इतिहासमै संकटसँग जुझ्ने पार्टी भएकाले पुनः उठ्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर, बालकोटस्थित निवास जलेर खरानी भएको उपाध्यक्ष गुरु बरालले पुष्टि गरेका छन्। उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव गोकर्ण विष्टलगायतका नेताको घरमा पनि आगजनी भएको छ।

‘यो प्राकृतिक विपत्ति वा भूकम्पभन्दा ठूलो क्षति हो,’ बरालले भने, ‘तर विचार र सिद्धान्त नष्ट हुँदैन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवाससहित २२ नेताको घर खरानी भएको उपाध्यक्ष अग्नि सापकोटाले बताए । माओवादीको कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा केही पनि बाँकी नरहेको अधिकारीहरूले बताएका छन्।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको निवासमा समेत आगजनी भयो। खनालकी पत्नी गम्भीर घाइते भएकी छन्। नेता राजेन्द्र पाण्डे र रामकुमारी झाँक्रीको घर र गाडीमा क्षति पुगेको छ।

रास्वपा र राप्रपाको कार्यालय भने सुरक्षित रहेको बताइए पनि, कांग्रेस, एमाले, माओवादी र समाजवादीका शीर्ष नेताहरू घरबारविहीन भएका छन् । उनीहरू अहिले सेनाको कडा सुरक्षा घेरामा रहेका छन् ।


सम्बन्धित समाचार
भर्खरै