३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै सुदन गुरुङ नेतृत्वको हामी नेपाल समूहले सोमबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। मन्त्री छनोटमा आफ्नो प्रस्तावलाई बेवास्ता गरेको आरोप लगाउँदै उनीहरू प्रधानमन्त्री कार्कीप्रति आक्रोशित बनेका हुन्।
जेनजी आन्दोलनमा मृत्यु भएका परिवारका सदस्यसहितको उपस्थितिमा प्रदर्शनकारीहरूले “प्रधानमन्त्री राजीनामा दे”, “मुर्दामाथि राजनीति नगर” जस्ता नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा सुदन गुरुङले भने, “सबैभन्दा शक्तिशाली नेपाली जनता हो, कसैले हामीलाई रोक्न सक्दैन। जुन ठाउँमा राखेका छौं, त्यहाँबाट थुतेर निकाल्छु।”
गत शुक्रबार सुदन नेतृत्वकै प्रस्तावमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन्। तर, उनले आइतबार तीन मन्त्री नियुक्त गर्दा समूहसँग परामर्श नगरेको भन्दै असन्तुष्टि देखिएको हो। कार्कीले काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरेकी छन्।
ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएको विषयमा विशेष आक्रोश पोख्दै गुरुङले भने, “यो ओमप्रकाशलाई लिएर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर।” प्रदर्शनपछि प्रधानमन्त्री निवास वरपरको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ।















