३० भदौ, काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले सोमबार एक भावुक वक्तव्य जारी गर्दै आफूलाई पद र राजनीतिको घेरामा नभएर बिरामीको सेवामै समर्पित हुने बताएका छन् ।
प्रत्येक राजनीतिक उथलपुथलपछि उनलाई कुनै न कुनै नेतृत्वदायी भूमिकामा आउन अनुरोध आउने गरेको भए पनि उनी आफ्नो कर्ममा अडिग छन्। उनले ‘नेपाली र संसारभरका बिरामीको सेवा नै मेरो कर्म हो’ भनेका छन् ।
जेन–जी आन्दोलनमा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले भने, ‘हामी सबै आफ्नो पेसा, कर्म र व्यवसायमा इमान्दार भएर लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन।’
आफ्नो लामो चिकित्सकीय यात्रामा पाएको साथ र मायाप्रति कृतज्ञता व्यक्त गर्दै उनले भनेका छन्, ‘मेरो साधना नै अन्धोपन निवारण हो। मेरो हृदय सफा छ, म यसैमा खुसी छु।’ उनले आफू आफ्नो ज्ञान, सीप र समय नेपाली र संसारभरका बिरामीको सेवामा खर्चिने स्पष्ट पारेका छन्। डा. रुइतको यो भनाइले उनी पद र प्रतिष्ठाभन्दा माथि उठेर मानवीय सेवामा समर्पित छन् भन्ने कुरा पुनः पुष्टि गरेको छ। उनको जीवनले हामी सबैलाई आफ्नो पेसाप्रति इमान्दार रहन र देशको हितमा योगदान दिन प्रेरित गरेको छ।















