३० भदौ,वीरगञ्ज । यस वर्षको विश्वकर्मा पूजामा विगतका वर्षहरूजस्तो उत्साह देखिएको छैन । मुलुकभर जारी आन्दोलन, कफ्र्यू र हिंसात्मक घटनाको प्रभाव पूजामा पनि परेको छ । विशेषगरी कलकारखाना, सवारीसाधन र उपकरणहरूमा पूजा गर्ने परम्परा रहेको यो पर्वमा व्यापारी र मजदुर दुवै प्रभावित भएका छन् ।
देशभर एक सातादेखि जारी बन्द र असुरक्षाको वातावरणले गर्दा बजार सुनसान भएको छ । व्यापारीहरूले पूजाका तयारी सुस्त भएको जनाएका छन् । श्रीपुरका एक फर्निचर व्यवसायीका अनुसार, यसपालि मूर्ति नै नराखी साधारण पूजामा सीमित हुने निर्णय गरिएको छ । “न त व्यापार चल्यो, न मजदुरको लागि नयाँ कपडा किन्न सकिने स्थिति रह्यो,“ उनले गुनासो गरे ।
मुर्ली सम्झना होटलअगाडि मूर्ति निर्माण गरिरहेका एक मूर्तिकारले पनि यस वर्षको सिजन कमजोर रहेको बताए । “सामान्यतया यो समयमा ५० भन्दा बढी मूर्तिको अर्डर आउँथ्यो, अहिले मुश्किलले २० वटा अर्डर आएको छ,” उनले भने, “बजार मन्दी छ, घाटा हुने निश्चितजस्तै छ ।”
बजारमा केही चहलपहल बढ्न थाले पनि व्यापारीहरू पूजालाई लिएर पूर्ण रूपमा उत्साहित छैनन् । बन्द र तनावपूर्ण अवस्थाले ग्राहकहरूको चाप घटाएको र आर्थिक रूपमा समेत असर परेको व्यापारीहरूको भनाइ छ ।















