Logo

३१ भदौ, काठमाडौँ । सरकारको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा असोज १ गते शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारको बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै शोक दिवसका दिन सार्वजनिक बिदा समेत दिइने बताए।

बैठकले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई ‘सहिद’ घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै, सहिदका परिवारलाई सरकारले प्रत्येकलाई १५ लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ।

यस्तै आन्दोलनमा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ।

गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा भएको जनधनको क्षति, ज्यादती तथा घुसपैठबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिने भएको छ। साथै, भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा ‘जेन–जी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय पनि भएको छ।

यससँगै, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेस गरेका सबै प्रस्ताव फिर्ता लिने निर्णय गरिएको सरकारका प्रवक्ताले जनाएका छन्।

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।


सम्बन्धित समाचार