३१ भदौ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मार्फत यस सम्बन्धमा गुनासो प्राप्त भएको जनाइएको छ। गुनासोअनुसार केही शिक्षक तथा कर्मचारीले विद्यालय समयमै तोकिएको पोशाकमा टिकटक भिडियो र अन्य मनोरञ्जनात्मक सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्, जसले बालबालिकाको मनोविज्ञानमा प्रतिकूल असर पार्ने देखिएको छ।
यस्ता गतिविधिले विद्यालयको अनुशासन, शिक्षण वातावरण र विद्यार्थीको ध्यानमा नकारात्मक प्रभाव पार्ने भन्दै मन्त्रालयले विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीलाई तत्काल यस्तो कार्य नगर्न निर्देशन दिएको हो।
मन्त्रालयले विद्यालयलाई सिकाइमैत्री र अनुशासनयुक्त वातावरण बनाउन शिक्षक र कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति संवेदनशील रहन समेत आग्रह गरेको छ।















