३१ भदौ, वीरगञ्ज । उत्कर्ष नेपाल र वीरगञ्ज पब्लिक कलेजको संयुक्त सहकार्यमा “Rebuilding Nepal Campaign” अन्तर्गत रानीघाट प्रहरी बिटलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
सहयोग स्वरूप भान्साका सामान, सुत्ने सामग्री तथा कार्यालय सञ्चालनका लागि आवश्यक उपकरणहरू प्रदान गरिएको छ। यी सामग्री उपलब्ध भएपछि गत आन्दोलनमा क्षतिग्रस्त बनेको प्रहरी बिट पुनः पूर्ण रूपमा सञ्चालनमा फर्किएको हो।
गत सेप्टेम्बर ९ मा भएको जेन–जेड आन्दोलनका क्रममा प्रशासनिक र सुरक्षात्मक संरचनामा ठूलो क्षति पुगेको थियो। त्यसपछि प्रभावित संरचनाहरूलाई पुनःस्थापित गर्न उत्कर्ष नेपालले “Rebuilding Nepal Campaign” सुरु गरेको हो।
संस्थाका प्रतिनिधिहरूका अनुसार, अभियानको उद्देश्य केवल भौतिक सामग्री वितरणमा सीमित नभई कानून–व्यवस्था सामान्य अवस्थामा फर्काउन, नागरिक सेवाप्रवाह अवरोधमुक्त बनाउन र समाजमा आशा तथा विश्वास पुनःस्थापित गर्न समेत हो।
“जसरी सकिन्छ, जसरी सम्भव छ, आफ्नो तवरले यस अभियानमा हातेमालो गरौँ,” संस्थाका प्रतिनिधिहरूले सबैमा आह्वान गरेका छन्।















