Logo

३१ भदौ, काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

मंगलबार प्रकाशित गोरखापत्र दैनिक का अनुसार, गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे र ६०१ वटा दुईपाङ्ग्रे गरी जम्मा १,०४२ सवारीसाधन क्षतिग्रस्त भएका छन्। यो तथ्यांक सम्पूर्ण सरकारी कार्यालयको आधिकारिक विवरण नभई सम्बन्धित निकायले निकालेको प्रारम्भिक अनुमान र स्थलगत अवलोकनका आधारमा तयार गरिएको हो।

सडक विभाग सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। विभागले मोटरसाइकल र स्कुटर गन्नै नसकिने गरी जलेको जनाएको छ। त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने संख्यामा दुईपाङ्ग्रे, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र करिब दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ गाडी र ७४ दुईपाङ्ग्रे नष्ट भएको विवरण आएको छ।

त्यस्तै, अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल तथा स्कुटर जलेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी, २ बस र ३६ मोटरसाइकल पनि क्षतिग्रस्त भएका छन्।

प्रारम्भिक तथ्यांक अनुसार, तोडफोड मात्र भएका सवारीसाधन यसमा समेटिएका छैनन्। सबै क्षतिको आर्थिक मूल्यांकन गर्न अझै केही समय लाग्ने सम्बन्धित निकायहरूले जनाएका छन्।


सम्बन्धित समाचार