Logo

३१ भदौ, काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

मंगलबार प्रकाशित गोरखापत्र दैनिक का अनुसार, गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे र ६०१ वटा दुईपाङ्ग्रे गरी जम्मा १,०४२ सवारीसाधन क्षतिग्रस्त भएका छन्। यो तथ्यांक सम्पूर्ण सरकारी कार्यालयको आधिकारिक विवरण नभई सम्बन्धित निकायले निकालेको प्रारम्भिक अनुमान र स्थलगत अवलोकनका आधारमा तयार गरिएको हो।

सडक विभाग सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। विभागले मोटरसाइकल र स्कुटर गन्नै नसकिने गरी जलेको जनाएको छ। त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने संख्यामा दुईपाङ्ग्रे, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र करिब दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ गाडी र ७४ दुईपाङ्ग्रे नष्ट भएको विवरण आएको छ।

त्यस्तै, अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल तथा स्कुटर जलेको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी, २ बस र ३६ मोटरसाइकल पनि क्षतिग्रस्त भएका छन्।

प्रारम्भिक तथ्यांक अनुसार, तोडफोड मात्र भएका सवारीसाधन यसमा समेटिएका छैनन्। सबै क्षतिको आर्थिक मूल्यांकन गर्न अझै केही समय लाग्ने सम्बन्धित निकायहरूले जनाएका छन्।


सम्बन्धित समाचार
भर्खरै