३१ भदौ,वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका–३ पतगछियामा सोमबार राति तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये करिब ४५ वर्षीय गोपाल यादव, ३० वर्षीय रविशंकर यादव, र ४० वर्षीय अजमुल मियाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार, गोपालको स्थानीय अस्पतालमा, भने रविशंकर र अजमुलको भारतको मोतिहारीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
स्थानीयका अनुसार, तीनै जनाले भदौ २९ गते एकै ठाउँमा बसेर मदिरा सेवन गरेका थिए। भोलिपल्टदेखि उनीहरू अचानक बिरामी परेपछि अस्पताल लगिएको थियो। उपचारका क्रममा केही घण्टाको फरकमा तीनैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले मृत्युको कारण खुल्न बाँकी रहेको बताउँदै, विषाक्त मदिरा वा खाना सेवनको आशंका गरिएको जनाएको छ।गोपाल र रविशंकरको स्थानीयस्तरमा र अजमुलको भारतमै दाहसंस्कार गरिएको छ। शवदाह पछि मात्र घटना प्रहरीलाई जानकारी गराइएको हुँदा अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ।
हाल जिल्ला प्रहरी कार्यालय बाराबाट विशेष टोली खटाइएको छ र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।















