३१ भदौ, काठमाडौं । जेन–जी आन्दोलनले देशभर पुरानो राजनीतिक नेतृत्वमाथि प्रश्न उठाइरहेका बेला नेकपा माओवादी केन्द्रभित्र आन्तरिक कलह सुरु भएको छ।
पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तत्काल राजीनामा मागेका छन्। पार्टीमा लामो समयदेखि रुपान्तरण को आवाज उठाउँदै आएका शर्माले जेन-जी आन्दोलनले भ्रष्टाचार र बेथितिको राजनीतिमाथि प्रहार गरेकाले अब नयाँ नेतृत्व आवश्यक भएको निष्कर्ष निकालेका छन्। उनले पार्टीभित्र र बाहिर यो विषयमा बहस चलाउन सुरु गरेका छन् ।
शर्माका मुख्य माग
शर्माले प्रचण्डको राजीनामाको मागसँगै पार्टी र देशलाई नयाँ दिशा दिन १४ बुँदे प्रस्ताव अघि सारेका छन्। जेन-जी आन्दोलनले नयाँ नेतृत्वको माग गरेकाले मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ। पार्टीभित्र सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्छ। यस्तै, २०४६ सालपछि पदमा बसेका सबैको सम्पत्ति छानबिनको लागि उच्चस्तरीय आयोग बनाउन सरकारसँग माग गर्नुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र निश्चित पदमा व्यक्ति कति पटक बस्ने भन्नेबारे स्पष्ट नीति बनाउनुपर्छ। आन्दोलनले उजागर गरेको कमिसनतन्त्र र दलालीलाई सकारात्मक रुपमा लिएर देशलाई नयाँ ढंगले अघि बढाउने बाटो खोज्नुपर्छ।
पार्टीभित्रको विवाद चर्कियो
शर्माले यसअघि पनि पार्टी बैठकमा प्रचण्डको कार्यशैली र नेतृत्वमाथि प्रश्न उठाएका थिए, तर त्यसलाई बहुमतले अस्वीकार गरेको थियो। प्रचण्ड पक्षले भने शर्मामाथि ‘पार्टीमा अराजकता मच्चाएको’ आरोप लगाउने गरेका छन्।
जेन-जी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका प्रचण्डले पार्टी कार्यालयको अवलोकन गरिरहेका बेला शर्माको यो कदमले पार्टीभित्रको आन्तरिक विवादलाई थप चर्काएको छ।















