१ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा कारागार तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जना कैदीबन्दीको ज्यान गएको छ।
बाँके, रामेछाप र धादिङका कारागारबाट भाग्ने प्रयास गर्दा उनीहरूको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ। मृत्यु हुनेमध्ये पाँच जना बाँकेको बालसुधार गृह नौबस्ताका नाबालक बन्दीहरू छन् । उनीहरूमा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय दिनेश घर्तिमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलालीका १९ वर्षीय जगत देउवा र दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री रहेका छन् ।
यसैगरी, रामेछाप जिल्ला कारागारबाट भाग्ने क्रममा मोरङका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको ज्यान गएको छ।
धादिङ जिल्ला कारागारमा भने जेल तोडेर भाग्न खोज्दा सेनाको गोली लागेर दुई जनाको मृत्यु भएको छ। धादिङको बेनिघाटका ६१ वर्षीय जित बहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्र बहादुर डाला रहेका छन् ।















