१ असोज,वीरगञ्ज । बाराको वन क्षेत्रमा बाघको आक्रमणबाट केही मानिसको ज्यान गएको घटनापछि डिभिजन वन कार्यालय, बाराले उक्त क्षेत्रमा एक साताका लागि प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको छ।
मंगलबार एक सूचना जारी गर्दै डिभिजन वन कार्यालयले जितपुरसिमरा उपमहानगरपालिका–२२ र ४ स्थित वन क्षेत्रमा वन्यजन्तुजन्य जोखिम अत्यधिक बढेकाले असोज १ गतेदेखि ७ गतेसम्म वन क्षेत्रमा आवत–जावत गर्न रोक लगाइएको जानकारी दिएको हो।
वन ऐन, २०७६ अनुसार लागू गरिएको प्रतिबन्धका क्रममा अबको एक हप्तासम्म दाउरा, घाँसपात, च्याउ, सोत्तर संकलन गर्न पाइने छैन। साथै, वन क्षेत्रमा घरपालुवा जनावर लैजान, पिकनिक मनाउन तथा पूर्व–पश्चिम लोकमार्ग र सहायक मार्गमा गाडी रोक्न वा पार्किङ गर्नसमेत निषेध गरिएको छ।
डिभिजनल वन अधिकृत राजीव कुमार झाले अति आवश्यक काम परेमा मात्र कार्यालयको पूर्वस्वीकृति लिएर मात्रै प्रवेश गर्न सकिने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार प्रतिबन्ध उल्लङ्घन गरेर वन क्षेत्रमा प्रवेश गर्नेहरूलाई कानुनी कारबाही हुनेछ, र कुनै दुर्घटना वा क्षति भएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंको हुने सूचनामा उल्लेख गरिएको छ।
स्थानीयहरूलाई वन क्षेत्र नजिक नजान र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।















