Logo

१ असोज,सेढवा । पर्साको सेढवास्थित इलाका प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायब निरीक्षक (प्रनानि) अर्जुनकुमार साहसहित ६ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालय पर्सा तानिएको छ। भारतीय कुखुरा बरामद प्रकरणमा उठेका विवादपछि उनीहरूलाई तानिएको पर्सा प्रहरीले जनाएको छ।

गत आइतबार (भदौ २९ गते) सेढवामा कार्यरत प्रहरी टोलीले जिराभवानी गाउँपालिका–१ महादेवपट्टि नजिकबाट दुई वटा मोटरसाइकलमा ल्याइँदै गरेको करिब २०० किलो बराबरको ६० पिस भारतीय कुखुरा बरामद गरेको थियो। सोही क्रममा टिभिएस BR 05 AW 7327 र नम्बर नभएको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाइएको थियो।

बरामद गरिएको कुखुरा स्थानीय जनप्रतिनिधि, पर्सा कुखुरा व्यवसायी संघका पदाधिकारी तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको भए पनि नियन्त्रणमा लिएका दुवै मोटरसाइकल व्यापारीलाई नै फिर्ता गरिएको आरोप सार्वजनिक भएपछि प्रहरी टोली विवादमा तानिएको हो।

पर्सा कुखुरा व्यवसायी संघका सचिव गम्भिरा गुप्ताले इलाका प्रहरी प्रमुख प्रनानि साहले सुरुवातमा मोटरसाइकल भन्सार कार्यालय वीरगञ्ज पठाउने प्रक्रिया अगाडि बढाएको र त्यसअनुसार मुचुल्का समेत तयार गरेको दाबी गरेका छन्। तर, पछि १५ हजार रुपैयाँको लेनदेनमार्फत दुवै मोटरसाइकल व्यापारीलाई नै बुझाइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

यसबारेमा प्रतिक्रिया दिँदै प्रनानि अर्जुनकुमार साहले आफूले “माथिबाट प्राप्त आदेश”अनुसार मात्र काम गरेको दाबी गरेका छन्। तर, आदेश कोबाट आएको थियो भन्नेबारे उनले खुलासा गर्न मानेनन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले भने घटनाबारे आफूलाई जानकारी नभएको जनाउँदै, सार्वजनिक भएको आरोपका विषयमा तत्कालै छानबिन सुरु गरिने बताएका छन्। “यदि कुनै पनि प्रहरी सदस्यले गैरकानुनी कार्य गरेको पाइएमा कडाभन्दा कडा कारबाही हुन्छ,” उनले भने।

यस प्रकरणपछि इलाका प्रहरी कार्यालय सेढवामा साहको स्थानमा अब बरिष्ठ प्रहरी नायब निरीक्षक मोहन यादवको नेतृत्वमा नयाँ ६ जनाको प्रहरी टोली खटाइएको छ।

यो पनि पढ्नुहोस :–

पर्साको जिराभवानीबाट ठूलो परिमाणको भारतीय कुखुरा बरामद

पर्सामा भारतीय कुखुरासहित बरामद मोटरसाइकल रकम चलखेल गरी पुनः व्यापारीलाई नै बुझाएको आरोप


सम्बन्धित समाचार