Logo

२ असोज, वीरगञ्ज । अन्तरिम सरकार गठन भएको केही दिनमै नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको व्यापक सरुवा भएको छ । गृह मन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङले विभिन्न जिल्ला र इकाइमा कार्यरत एसपीहरूको सरुवा निर्णय गरेका हुन् । यसअन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरू समेत परिवर्तन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रलाई कैलाली, धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ। गत वर्ष माघमा पर्सामा सरुवा भई आएका मिश्रको सात महिनामै फेरि सरुवा भएको हो ।

मिश्रको स्थानमा अब एसपी सुदीप राज पाठक पर्साका प्रहरी प्रमुखका रूपमा आउने भएका छन्। पाठक हाल काठमाडौंको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गतको प्रहरी महाशाखामा कार्यरत छन् ।

पर्सामा रहँदा मिश्रले अपराध नियन्त्रणसँगै मानव बेचबिखन रोकथाममा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । यही योगदानका आधारमा केही दिनअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उनलाई सम्मानित गरेको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार भदौ ३१ गतेको निर्णयअनुसार सरुवा कार्यान्वयनमा ल्याइएको हो ।


सम्बन्धित समाचार