Logo

२ असोज, काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका सर्वोच्च कमान्डर एवं नेपाली राजनीतिका महान् त्यागी नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

नेपाली राजनीतिमा त्याग, साहस र इमानदारीका प्रतिमूर्तिका रूपमा चिनिएका सिंह विसं २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर मात्र होइन, सबैका लागि प्रेरणाको स्रोतसमेत बनेका थिए। आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि उनले सहकर्मी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा उच्च त्यागको उदाहरण प्रस्तुत गरेका थिए।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका सिंह विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद् का सदस्य बनेर राणा शासनविरुद्धको अभियानमा सक्रिय भएका थिए। राणा शासन अन्त्य गर्ने संघर्षमा जेल जीवन भोगेका उनले विसं २००७ अघि भद्रगोल जेल फोडेर भाग्न सफल भई भारत पुगेर बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विस्तार गरेका थिए। पछि विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेस (हालको नेपाली कांग्रेस) को विकास र विस्तारमा उनले आजीवन योगदान दिए।

सिंहले २००७ सालको क्रान्तिमा वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। विसं २०१५ को पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री रहेका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजलमा कैद जीवन बिताए। बिपीसँगै २०२५ मा जेलमुक्त भएपछि प्रवासमा कांग्रेसको संगठन विस्तारमा लागेका उनी २०३३ मा स्वदेश फर्की पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय भए।

बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा सिंहले २०४२ सालको सत्याग्रहदेखि २०४६ सालको जनआन्दोलनसम्म निरन्तर नेतृत्व गरे। विशेषतः २०४६ को जनआन्दोलनमा कम्युनिस्ट दलसँग सहकार्य गर्दै सिंह सर्वोच्च कमान्डरको भूमिकामा रहेर प्रजातन्त्र पुनःस्थापनामा निर्णायक योगदान दिएका थिए।

आज स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन्। सोही क्रममा बिहान ७ः४५ बजे शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम सम्पन्न गरिएको छ।


सम्बन्धित समाचार