२ असोज, काठमाडौं । भदौ २४ गतेको विध्वंसात्मक आगोले खरानी बनेको सर्वोच्च अदालतमा आजबाट न्यायको खोजी सुरु भएको छ ।
तर, यो कुनै भव्य भवनभित्र होइन, बरु खुला आकाशमुनि हिलो र धुलोको बीचमा तानिएको एउटा त्रिपालभित्र । बिहान चर्को घाम र गएराति परेको पानीको दुर्गन्धबीच सर्वोच्चको क्यान्टिन नजिकै एउटा अस्थायी इजलास खडा गरियो। त्यहाँ न्यायाधीश, कानुन व्यवसायी र कर्मचारीहरू पसिना पुछ्दै आफ्ना काममा जुटिरहेका थिए । न्यायाधीश सपना प्रधान मल्लले त्यही पालभित्र बसेर बाँके कारागारमा रहेका फिरोज आलमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमाथि सुनुवाइ गरिन् ।
बहसका क्रममा कानुन व्यवसायीलाई सडकको होहल्ला र भीडको आवाजले बोल्न कठिन भइरहेको थियो । आगजनीले अदालतका सबै फाइल जलेकाले न्यायाधीशले समेत पक्षबाट नै कागजात मगाउनुपर्ने अवस्था आयो । यो सांकेतिक सुनुवाइबाट सर्वोच्चले आफ्नो कामलाई निरन्तरता दिएको छ, तर यो घटनाले नेपालको न्यायप्रणालीमाथि भौतिक र प्रणालीगत रूपमा ठूलो क्षति पुगेको देखाउँछ । दशैं बिदापछि मात्रै थप सुनुवाइ गर्ने तयारीले पनि यसको जटिलतालाई स्पष्ट पार्छ।















