Logo

२ असोज, काठमाडौं । सामान्यतया दशैंको माहोल सुरु भएपछि मात्रै काठमाडौं छाड्नेहरूको भीडभाड सुरु हुन्छ, तर यस वर्षको अवस्था अलि फरक देखिएको छ।

सरकारले दशैंका लागि सवारीको अग्रिम टिकट बुकिङ अझै नखुलाउँदा पनि पछिल्लो एक हप्तामै ७० हजार जनाले काठमाडौं उपत्यका छाडेका छन् । यो चापलाई केवल दशैंको तयारी मात्र नभएर हालै सम्पन्न ‘जेनजी’ आन्दोलनको मनोवैज्ञानिक प्रभावसँग पनि जोडेर हेरिएको छ। पेशा व्यवसाय र रोजगारीका लागि काठमाडौंमा बसोबास गर्नेहरूका लागि दशैंमा घर फर्कनु एउटा ठूलो चुनौती बन्ने गरेको छ । समयमा टिकट नपाउने, महँगी र यात्राको असुविधा भोग्नुपर्ने डरले गर्दा धेरैले यस वर्ष पहिले नै यात्रा सुरु गरेका छन् । ल्होत्से बहुउद्देश्य कम्पनी लिमिटेडका म्यानेजर पंकज मल्लका अनुसार, भदौ २५ गतेदेखि असोज २ गतेसम्मको अवधिमा मात्रै ७० हजार यात्रुले गोंगबु बसपार्कबाट बाहिरिएका छन् ।

जेनजी आन्दोलनको प्रभावः

पछिल्लो समय नेपालमा भएको जेनजी प्रदर्शनले जनजीवनमा ठूलो प्रभाव पारेको थियो। यातायातका साधन, व्यवसाय र दैनिकी लामो समयसम्म प्रभावित हुँदा धेरै मानिसले असुरक्षित महसुस गरेका थिए। मल्लका अनुसार, प्रदर्शन सकिएलगत्तै गाउँ फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ। यसले आन्दोलनको समयमा उपत्यकाभित्रै रहेका वा घर फर्किन नपाएकाहरूले स्थिति सामान्य भएपछि दशैंको बहानामा घर फर्किने निर्णय गरेको देखाउँछ।

दशैंको मुखमा यात्रुको चाप अत्यधिक बढ्ने र टिकट पाउन अझै गाह्रो हुने अनुमानका साथ, धेरैले पहिले नै घर फर्किने योजना बनाएको बुझिन्छ। यस वर्षको यो अस्वाभाविक ‘पलायन’ले सरकारले समयमै अग्रिम टिकट बुकिङ खुलाउन नसक्दा यात्रुहरूले भोग्नुपरेको समस्या र जेनजी आन्दोलनको अदृश्य प्रभाव दुवैलाई उजागर गरेको छ।


सम्बन्धित समाचार
भर्खरै