Logo

३ असोज,वीरगञ्ज । बाराको जीतपुरसिमरा क्षेत्रमा तीन महिनाको अवधिमा तीन जनाको ज्यान लिने नरभक्षी बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ। शुक्रबार बिहान पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको आधाभार जंगलबाट उक्त बाघलाई डार्ट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल (ZSL) को विज्ञ टोली, स्थानीय जनप्रतिनिधि तथा प्रहरीको संयुक्त प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो। पथलैया–अमलेखगञ्ज सडकखण्ड नजिक बाघ देखिएको सूचना पाएपछि टोली हात्तीको सहायतामा घटनास्थल पुगेको थियो।

जीतपुरसिमरा–२१ का वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार डार्टिङपछि बाघलाई बेहोस बनाई निकुञ्जको कार्यालयस्थित खोरमा राखिएको छ।

यस बाघको आक्रमणबाट असारमा जीतपुरसिमरा–१ का ५५ वर्षीय छेवाङ्ग लामा, भदौमा वडा नं २२ का ६० वर्षीय कृष्णप्रसाद शर्मा र वडा नं २१ का ४५ वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको थियो।

मानव बस्ती नजिकै बारम्बार देखापर्दै आक्रमण गरेपछि स्थानीयवासीमा गहिरो त्रास फैलिएको थियो। बाघ नियन्त्रणमा आएपछि स्थानीयले ठूलो राहत महसुस गरेका छन्।

यद्यपि, पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जंगल क्षेत्र नजिक जाने बेला उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार
भर्खरै