Logo

३ असोज, काठमाडौं । भारतीय अर्बपति गौतम अडानीलाई भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले पूँजी बजारमा कुनै पनि अनियमितता नगरेको भन्दै सफाइ दिएको छ।

सन् २०२३ मा अमेरिकी अनुसन्धान संस्था हिन्डनबर्ग रिसर्चले अडानी समूहमाथि शेयरमा चलखेल र धोखाधडी गरेको आरोप लगाएपछि भारतको वित्तीय बजारमा ठूलो हलचल मच्चिएको थियो । हिन्डनबर्गको रिपोर्टपछि अडानी समूहका कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको थियो, जसले समूहको बजार पूँजीकरण १५० अर्ब डलरबाट घटेर ८५ अर्ब डलरमा सीमित भएको थियो ।

सेबीले दियो सफाइ

लामो अनुसन्धानपछि सेबीले अडानी र उनको समूहले पूँजी बजारमा कुनै अनियमितता गरेको कुनै पनि प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ। यो ‘क्लिन चिट’ पछि अडानी समूहका शेयरहरूमा तीव्र वृद्धि हुने अनुमान गरिएको छ। अडानीले सेबीको निर्णयपछि आफू र आफ्नो समूह सधैं पारदर्शिताको पक्षमा रहेको बताउँदै हिन्डनबर्गको आरोपबाट आफूलाई मानसिक पीडा भएको उल्लेख गरेका छन्। उनले गलत हल्ला फैलाउनेहरूले माफी माग्नुपर्ने पनि बताएका छन् ।

अमेरिकामा घुसखोरीको मुद्दा कायमै

तर, अडानीको समस्या यहाँ नै समाप्त भएको छैन। उनीमाथि संयुक्त राज्य अमेरिकामा पनि छुट्टै घुसखोरीको आरोपमा छानबिन चलिरहेको छ। सन् २०२४ को नोभेम्बरमा अडानी, उनका भतिजा सागर अडानी र अन्य दुई कार्यकारीलाई सौर्य ऊर्जा सम्झौताका लागि भारतीय अधिकारीहरूलाई २५ करोड डलरभन्दा बढी घुस दिएको आरोप लगाइएको थियो। यो मुद्दामाथिको छानबिन अमेरिकामा अझै जारी रहेको समाचारमा उल्लेख छ। यसले एकतिर भारतमा सफाइ पाए पनि, अन्तर्राष्ट्रिय स्तरमा उनको छविमाथिको प्रश्न अझै बाँकी रहेको देखाउँछ।


सम्बन्धित समाचार
भर्खरै