Logo

३ असोज,वीरगञ्ज । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर–२, बगेवाका ४५ वर्षीय चन्द्रकला चौधरीको सर्पको डसाईबाट मृत्यु भएको छ।

बुधबार बिहान घरमै बसिरहेको बेला सर्पले टोकेपछि उनलाई तत्काल उपचारका लागि कोल्हबी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छ। उक्त घटनाले स्थानीय बासिन्दा बीच गहिरो शोक व्याप्त भएको छ।

इलाका प्रहरी कार्यालय कोल्हबीले घटनाको पुष्टि गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले वर्षा मौसममा सर्पको डसाईबाट बच्नका लागि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले घर वरिपरिका झाडी सफा गर्ने, सर्प बस्ने सम्भावित प्वाल बन्द गर्ने, र राती सुत्दा झुल लगाउने जस्ता सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, सर्पले डसेको पाइएमा गाउँमा झरफुमा भर नपर्न र तत्काल नजिकैको अस्पतालमा पुगेर उपचार गराउन निर्देशन दिएको छ।

स्थानीय प्रशासनले यस प्रकारका घटनाबाट बच्न जनचेतना अभिवृद्धि गर्ने कामलाई प्राथमिकता दिने बताएको छ।


सम्बन्धित समाचार
भर्खरै