Logo

३ असोज,वीरगञ्ज । संविधान दिवसको अवसरमा ७ दलीय मधेसी मोर्चाले शुक्रबार वीरगञ्जमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। संविधानले मधेस लगायतका पहिचानका पक्षमा अधिकार सुनिश्चित नगरेको भन्दै मोर्चाका नेताकार्यकर्ताहरूले कालो पटी बाँधेर विरोध जनाएका हुन्।

वीरगञ्जको ऐतिहासिक घण्टाघरस्थित शहीद स्मारकमा आयोजित कार्यक्रममा मधेस आन्दोलनका शहीदहरूको सालिकमा माल्यार्पण गर्दै, नेताहरूले संविधानको कमजोरी सच्याउन माग गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टीकी नेतृ करिमा बेगम, सशिकपुर मियाँ, निजामुदिन असारीलगायत मोर्चाका नेताहरूको उपस्थिति थियो।

“संविधानले मधेसलाई अझै न्याय दिएको छैन, हाम्रो संघर्ष जारी छ,“ जसपा अध्यक्ष यादवले कार्यक्रममा स्पष्ट रूपमा भने।
जनमत नेतृ करिमा बेगमले महिलामाथिको भेदभाव अन्त्य गर्दै, समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

वक्ताहरूले संविधान निर्माणको प्रक्रियामा मधेस, थारू, आदिवासी जनजाति, मुस्लिमलगायत समुदायको आवाज उपेक्षित भएको भन्दै असन्तुष्टि जनाए। उनीहरूले संविधान संशोधनमार्फत मात्र सवै समुदायको अधिकार सुरक्षित गर्न सकिने धारणा राखे।

कार्यक्रममा सहभागी मोर्चाका कार्यकर्ताहरूले हातमा कालो पटी बाँधेर संविधानप्रति असन्तुष्टि जनाएका थिए। स्थानीय बासिन्दाले पनि कार्यक्रम नजिकबाट अवलोकन गरेका थिए।


सम्बन्धित समाचार
भर्खरै