४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, रानीघाटमा दुर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १०५ जनाले रगत दान गरेका छन्। समितिले विगत २५ वर्षदेखि दुर्गा पूजा अघि रक्तदान कार्यक्रम गर्दै आएको हो।
शनिबार आयोजित रक्तदान कार्यक्रममा ३ जना महिलासहित १०५ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। रक्तदान गर्ने व्यक्तिहरूमध्ये कुमारी सोनी पासवान, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, अरुण प्रसाद कुशवाहा, रितेश सुवेदी, अब्दुल सदाम हवारी, सन्तोष कुमार लगायत थिए, रक्त सञ्चार केन्द्र वीरगन्जले जानकारी दिएको छ।
कार्यक्रममा रक्तदाताहरूलाई प्रोत्साहनस्वरूप वीरगञ्ज–९ का वडाध्यक्ष जवाहर साह कानुले १५० थान टि–सर्ट वितरण गरेका थिए।
रक्तदान कार्यक्रम दुर्गा पूजा सेवा समिति रानीघाटका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षता तथा वडा अध्यक्ष जवाहर साह कानुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, शाखा सदस्य दिनानाथ प्रसाद रौनियार, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष प्रणय साह, रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ राज पाण्डे, रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सल्लाहकार गोपाल रौनियार, राजु गुप्ता लगायतको उपस्थिति रहेको थियो।
समितिका सचिव राजन कुमार साह, कोषाध्यक्ष विकास रौनियार, उपाध्यक्ष रवि रौनियार तथा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले पनि कार्यक्रमको व्यवस्थापनमा सक्रिय भूमिका खेलेका थिए।
दुर्गा पूजा सेवा समितिद्वारा निरन्तर गर्दै आएको रक्तदान अभियानले समाजमा सकारात्मक सन्देश दिनुको साथै वीरगन्जका स्वास्थ्य संस्थाहरूमा आवश्यक रगतको आपूर्तिमा टेवा पुर्याउँदै आएको छ।















