Logo

४ असोज, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोला पुल नजिक खसेको पहिरो हटाउने कार्य सुरु गरिएको छ। हिजो साँझ करिब ६:३० बजेबाट सुरु भएको पहिरोका कारण सडक अवरुद्ध भएपछि रातभर यातायात ठप्प भएको थियो।

आज बिहान पुनः थप पहिरो खसेपछि सडक खुलाउन अझै कठिनाइ भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। ढुंगा खस्ने क्रम अझै नरोकिएकाले पहिरो हटाउने कार्यमा जोखिम र ढिलाइ भइरहेको छ।

हाल तीनवटा लोडर र एक स्काभेटर प्रयोग गरी दुवै दिशाबाट पहिरो हटाउने प्रयास भइरहेको छ। साथै, मुग्लिनतर्फबाट थप एक स्काभेटर घटनास्थलतर्फ पठाइएको छ।

सडक डिभिजनका अनुसार, यदि थप पहिरो खस्ने क्रम रोकिने हो भने आगामी कम्तीमा ४ घण्टाभित्र सडक सुचारू गराउन सकिने सम्भावना रहेको छ। अहिले यात्रुहरू वैकल्पिक मार्गको खोजीमा छन् भने लामो दूरीका सवारीहरू बाटो खुल्ने प्रतिक्षामा छन्।

यस सडक खण्डमा बारम्बार पहिरो खस्ने समस्या रहँदै आएको छ, जसले यात्रु र सवारी चालकहरूलाई ठूलो सास्ती बनाएको छ। प्रशासनले जोखिमपूर्ण क्षेत्रबाट टाढै रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।


सम्बन्धित समाचार