४ असोज, झापा । झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जस्थित धान खेतमा आज बिहान एक जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ। स्थानीयवासीले बिहान खेतमा मृत हात्ती देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मृत हात्ती वयस्क पोथी हो र अहिले पोस्टमार्टमको तयारी भइरहेको छ। घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ र प्रारम्भिक अनुसन्धान अगाडि बढाइएको छ।
वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्तीको उमेर करिब २२ वर्ष जतिको रहेको बताए। उनले भने, “हिजो बेलुका भारततर्फबाट करिब १२ वटा जङ्गली हात्ती सो क्षेत्रमा प्रवेश गरेको सूचना प्राप्त भएको थियो। बिहानै एउटा हात्ती मृत भेटिएको खबर आयो।”
हालसम्म हात्तीको मृत्युको कारण खुल्न सकेको छैन। पोस्टमार्टम रिपोर्टपछि मात्रै वास्तविक कारण पत्ता लाग्ने डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए।
झापा क्षेत्रमा भारतबाट हरेक वर्ष जङ्गली हात्तीको आवतजावत हुने गरेको छ, जसले बेला–बेला स्थानीय क्षेत्रमा क्षति पु¥याउने गरेको छ। मृत हात्तीको घटनाले वन्यजन्तु संरक्षण तथा मानव–हात्ती द्वन्द्वका विषयमा पुनः ध्यानाकर्षण गराएको छ।















