५ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष राम किशोर सिंह परागले विगत आठ वर्षदेखि अलपत्र परेको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गर्दै सहरी विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। हरपतगञ्ज, अपौनी, उदयपुर घुर्मी, सौराहा लगायतका टोल जोड्ने करिब ८ किलोमिटर लामो सडक निर्माण अधुरो रहँदा स्थानीयवासीले वर्षाैंदेखि ठूलो सास्ती भोग्दै आएका छन्।
वडाध्यक्ष परागले पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी मार्फत बुझाएको ज्ञापनपत्रमा सडकमा तत्काल ग्रेभल बिछ्याएर सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन्। ठेक्का लिएको स्वच्छन्द÷पप्पु÷युनाइटेड जेभीले सडक र नालाका लागि गहिरो खाल्डो खनेर काम छोडेपछि पानी जम्ने, दुर्गन्ध फैलिने र हैजा, मलेरिया, डेंगीजस्ता रोगको जोखिम बढेको उनले बताए।
“आठ वर्षमा पाँच पटक म्याद थप गरियो, तर काम पूरा भएन,” वडाध्यक्ष परागले भने, “स्थानीयवासीको स्वास्थ्य र आवागमनमा गम्भीर समस्या छ। यदि अहिले पनि काम सुरु नभए म धर्ना बस्छु।” आक्रोशित स्थानीयले दसैँको पूजा पनि प्रभावित भएको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन्।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी सुवेदीले तत्कालै सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सञ्जीव कुमार साहलाई फोन गरी काम सुरु गर्न निर्देशन दिए। यद्यपि, साहले ठेकेदार कम्पनीबीच कानुनी विवादका कारण ढिलाइ भएको बताएका छन्। सिडिओ सुवेदीले कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्देशन दिँदै सडकको स्थलगत अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन्।
आयोजना कार्यालयका सूचना अधिकारी राजन जयसवालका अनुसार, २०७५ जेठ ९ मा ८४ करोड ९८ लाखको ठेक्का सम्झौता भएकोमा हालसम्म ठेकेदारले ५४ करोड ११ लाख भुक्तानी लिइसकेको छ। सम्झौता रकम बढेर ९१ करोड ४७ लाख पुगे पनि हालसम्म ७५ प्रतिशत मात्र काम सम्पन्न भएको जयसवालले जानकारी दिए।















