५ असोज, काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तारको क्रममा थप तीन मन्त्रीको नाम सिफारिस गरिएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार जगदीश खरेल र वैज्ञानिक महावीर पुनको नाम पुगेको स्रोतले जानकारी दिएको छ।
तीनै जनाको आजै मन्त्रिपरिषदमा नियुक्ति र शपथग्रहण गराउने तयारी भएको शीतल निवास स्रोतले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पत्रकार खरेलले सम्हाल्नेछन् भने वैज्ञानिक पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गर्नेछन्। अन्सारीले कुन मन्त्रालय सम्हाल्ने भन्ने विषय भने खुलाइएको छैन।
यसअघि नै अन्तरिम मन्त्रीपरिषदमा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास) र ओमप्रकाश अर्याल (गृह तथा कानुन) नियुक्त भइसकेका छन्।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् अधिकतम ११ सदस्यीय बनाउने प्रतिबद्धता जनाइसकेकी छन्। हालसम्म प्रधानमन्त्रीसहित ७ जनाको टिम बन्ने तयारी भइरहेको छ।
पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई आगामी निर्वाचनसम्म शासनसञ्चालनको जिम्मेवारी दिइएको छ। जनविश्वास प्राप्त व्यक्तित्वहरूलाई समेट्दै सरकार विस्तार गरिँदैछ।















