७ असोज, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले मंगलबार सिंहदरबारमा छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले निर्वाचनका लागि आवश्यक कानुनी संशोधन, स्रोतसाधन परिचालन तथा व्यवस्थापनलगायतका विषयमा विचार-विमर्श गरेको हो।
छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन तयारी अनिवार्य भएकाले तयारीमा अवरोध भइरहे त्यसलाई समयमै पहिचान गरी समाधान गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको प्रभावकारी समन्वयका लागि प्रारम्भिक छलफल भएको उल्लेख गर्दै सरकार र आयोग बीच आवश्यक कानुनी तथा प्राविधिक समन्वयलाई निरन्तरता दिइने बताए। उनले आयोग निष्पक्ष, स्वतन्त्र र मितव्ययी निर्वाचन गराउने प्रतिबद्धतामा दृढ रहेको बताए।
प्रतिनिधिसभा विघटनसँगै गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा गरिसकेको छ। सो मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले मतदाता नामावली ऐन, २०७३ को संशोधनलगायत कानुनी तयारीका लागि सरकारसँग आग्रह गरिरहेको छ।
हालसम्म कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० पुगेको छ। यता, गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई समेत मताधिकार दिन सम्भावनाबारे अध्ययन गर्न आग्रह गरेपछि आयोगले कानुनी विज्ञहरूसँग परामर्श थालेको छ।
गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको अन्तरिम सरकारले सत्ता व्यवस्थापनसहित मध्यावधि निर्वाचन घोषणा गरेको हो।

















