Logo

११ साउन, काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।

साउने झरीको प्रवाह नगरी भक्तजनहरू पूजाआराधना र दर्शनका लागि शिव मन्दिरहरूमा पुगेका छन् । भक्तजनको सुविधालाई ध्यानमा राख्दै बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खोलिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार साउनको पहिलो सोमबारको तुलनामा आजको दर्शन व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाइएको छ। मन्दिर छिर्नका लागि चार वटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको छ भने विशेष पूजाको समय बिहान ८स्३० देखि मध्याह्न १२ बजेसम्मका लागि निर्धारण गरिएको छ । बिहानैदेखि खुला गरिएका मन्दिरका चारै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहने कोषले जनाएको छ ।

दर्शनार्थीहरूको सुरक्षा तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र काठमाडौँ महानगर प्रहरीका साथै विभिन्न सामाजिक सङ्घसंस्थाहरू खटिएका छन् ।

पशुपतिनाथका अलावा उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेव मन्दिरका साथै देशभरका साना–ठूला शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।


सम्बन्धित समाचार
भर्खरै