११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि विकसित परिस्थितिबारे छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।
गृह मन्त्रालयमा बस्ने उक्त बैठकमा गृहमन्त्रीको अध्यक्षतामा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकले सुनसरीको पछिल्लो अवस्थाका साथै देशभरको समग्र शान्ति सुरक्षाको विश्लेषण गर्दै थप रणनीति तय गर्नेछ ।
कप्तानगञ्जमा गएराति भएको घटनापछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरे पनि त्यसको उल्लङ्घन गर्दै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । परिस्थिति जटिल बनेपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरूसँग मन्त्रालयमा आपत्कालीन छलफल गरेका थिए । सोही छलफलको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार उक्त समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ। समितिले घटनाको कारण पहिल्याउनुका साथै भविष्यमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन अपनाउनुपर्ने कदमहरूबारे समेत आवश्यक सुझाव पेस गर्नेछ ।




















