Logo

११ असोज,वीरगञ्ज । थारु कल्याणकारी सभा पर्साको आयोजनामा पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित औराहा पचगावामा शनिबार विजयादशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रममा थारु कल्याणकारी सभा पर्साका अध्यक्ष भागवत चौधरी थारुको अध्यक्षता तथा सभाका केन्द्रीय सदस्य महेन्द्र चौधरी थारुको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा अध्यक्ष भागवत चौधरी थारुले चाडपर्वहरू केवल परम्परा नभई सामाजिक एकता, सद्भाव र संस्कृतिको संवाहक भएको बताए। उनले भने, “चाडपर्वहरूले परिवार, छिमेकी र समाजलाई जोड्ने कार्य गर्छन्। यी पर्वहरूलाई मर्यादित र अनुशासित तरिकाले मनाउँदै भावी पुस्तालाई सही संस्कार दिनुपर्छ।”

प्रमुख अतिथि महेन्द्र चौधरी थारुले चाडपर्वलाई केवल रमाइलोको अवसर नभई संस्कृति र पहिचानको संवाहकको रूपमा लिनुपर्नेमा जोड दिए। “हाम्रो समाजमा विविधता छ, तर चाडपर्वले सबैलाई एउटै डोरीमा बाँध्ने काम गर्छ,” उनले भने, “आगामी पुस्ताले चाडपर्वको मूल्य र महत्त्व बुझ्न जरुरी छ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महतो थारु, थारु कल्याणकारी सभा पर्साका उपाध्यक्ष राजु चौधरी थारु, मोहन दास थारु, अधिवक्ता अभय दास थारु र सचिव मनोज चौधरी थारुले पनि चाडपर्वले ल्याउने सामाजिक, सांस्कृतिक र ऐक्यबद्धताको सन्देशबारे मन्तव्य व्यक्त गरे।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद थारुको विशेष पहलमा आयोजना गरिएको थियो भने संयोजन थारु समाज पर्सा परिवारले गरेको थियो।


सम्बन्धित समाचार
भर्खरै