११ असोज,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१४, बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार, चार जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बी आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। मृत्यु हुनेहरूमा भारतीय मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका–११ का ३७ वर्षीय जुही साह र महागढीमाई नगरपालिका–१ का १८ वर्षीय समशाद आलम देवान रहेका छन्। जुही शनिबार दिउँसो १ बजे र आलम सोही दिन बिहान २ बजे उपचारका क्रममा निधन भएका हुन्।
दुर्घटनामा घाइते भएका जुहीका पति किशोरी साह, उनका दुई छोरा कौशल साह र कृष्ण साह, साथै १८ वर्षीय अफताब आलमलाई विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अफताबको अवस्था गम्भीर छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














