१२ असोज, वीरगञ्ज । उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका–१ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीलाई एक हजार लिटर क्षमताको प्लास्टिक ट्याङ्की हस्तान्तरण गरेको छ।
स्थानीय तहमा खानेपानीको अभाव भइरहेको अवस्थामा सशस्त्र प्रहरीको सुविधा र दैनिकी कार्यमा सहजता ल्याउने उद्देश्यले उपकार सेवा नेपालले उक्त सहयोग गरेको हो।
सशस्त्र प्रहरी १३ नं. गण, वीरगञ्जमा पुगी एक कार्यक्रमकाबीच उपकार सेवा नेपालका पदाधिकारीहरूले सो पानी ट्याङ्की हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा सशस्त्र प्रहरी १३ नं. गणका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्की र युवराज योञ्जन, सशस्त्र प्रहरी निरीक्षक फलबहादुर थापा, अन्तबहादुर गुरुङ र हरिचन्द्र खड्का उपस्थित थिए । उपकार सेवा नेपालतर्फबाट अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया र सामाजिक अभियन्ता प्रकाश थारूले सहभागिता ।
ट्याङ्की हस्तान्तरण कार्यक्रममा वक्ताहरूले प्रहरीको दैनिकी सेवा प्रवाहलाई सहज बनाउन उपकार सेवा नेपालको योगदान उल्लेख्य रहेको बताए । डीएसपी कार्कीले स्थानीय स्तरमा सार्वजनिक संस्थासँगै समुदायको सहयोग भएमा सुरक्षाकर्मीहरूको कार्यक्षमता अझ बढ्ने विश्वास व्यक्त गरे ।
उपकार सेवा नेपालले यसअघि पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न सहयोगी कार्यक्रम सञ्चालन गर्दै आएको छ।















