१२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, बहुअरीमा बेवारिसे अवस्थामा भेटिएकी एक गर्भवती महिलालाई उद्धार गरी मानव सेवा आश्रममा राखिएको छ। शनिबार राति करिब ९ बजे सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई उद्धार गरेको हो।
उक्त महिलाको उमेर करिब ३० वर्ष अनुमान गरिएको छ। स्थानीय बासिन्दाले सडकमा अलपत्र अवस्थामा गर्भवती महिला देखेपछि खबर गरेसँगै थारुको समन्वयमा प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरिसहितको टोली पुगेको थियो। उद्धारपछि उनलाई वीरगञ्जस्थित मानव सेवा आश्रममा लगिएको हो।
मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ताका अनुसार, महिला आफ्नो नाम, थर र ठेगाना खुलाउन सक्ने अवस्थामा छैनन्। “आश्रममा ल्याएपछि उहाँले आफनो परिचय दिन सक्नुभएको छैन,“ गुप्ताले जानकारी दिए। “अब उहाँलाई नारायणी अस्पतालमा लिएर गर्भावस्थासम्बन्धी परीक्षण गरिन्छ। त्यसपछि मानसिक स्वास्थ्य परीक्षण गरी उपचार अघि बढाइनेछ।“
महिलाको मानसिक अवस्था अस्थिर देखिएको हुँदा उनलाई मनोरोग चिकित्सक डा. भरत गोइतको निगरानीमा राखेर आवश्यक उपचार सुरु गरिने आश्रमले जनाएको छ।
स्थानीयको सूचनाको आधारमा भएको उद्धारले गम्भीर अवस्थाबाट महिलालाई सुरक्षित स्थानमा पु¥याउन सहयोग पुगेको छ। सामाजिक अभियन्ता थारुले भने, “सडकमा बेवारिसे अवस्थामा गर्भवती महिला देखेर स्थानीयहरूले हामीलाई खबर गरे। प्रहरीले पनि तत्काल साथ दियो। अब उहाँ सुरक्षित हुनुहुन्छ।“
मानव सेवा आश्रमले यस्ता अवस्थामा परेका असहाय, अपांग, मानसिक रोगी र बेवारिसे नागरिकहरूको उद्धार तथा संरक्षण गर्दै आएको छ। आश्रमले आवश्यक परेमा ती महिलाको पहिचान खुलाउने प्रयास पनि गरिने जनाएको छ।















