१२ असोज, बाजुरा। सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा दशैँ र तिहारको चाडपर्वमा उत्साहका साथ खेलिने परम्परागत पिङ खेल्ने संस्कृति क्रमशः लोप हुँदै गएको छ । पहिलाको जस्तो गाउँघरमा पिङ हाल्ने र रमाइलो गर्ने दृश्य आजकाल निकै कम देखिन थालेको छ ।
बडीमालिका नगरपालिका ७ का स्थानीय हिरालाल पाध्यायले भने, “पहिले दशैँमा धर्ती छाडेर पिङ हालेर रमाइलो हुन्थ्यो, साथीभाइ सँग भेला भएर चचहुइँ गर्दै पिङ खेल्ने चलन थियो, तर अहिले यो परम्परा हराउँदै गएको छ ।”
नयाँ प्रविधि र आधुनिक सुविधाको प्रभावले गर्दा परम्परागत पिङ खेल्ने प्रचलन गुम्दै गएको बुझिएको छ । स्थानीय बुढापाकाले पनि नयाँ पुस्ताले पिङ लगायतका सांस्कृतिक खेलकुद र परम्परालाई निरन्तरता दिनुपर्ने आवश्यकताको जोड दिएका छन् ।
पिङ बनाउन बाबियो काटेर लुठो बाटी वरपर चार वटा खामा गाडेर निर्माण गरिन्छ भने खाली बाबियोबाट रुखको हाँगामा बाँधेर पनि पिङ खेलिने चलन छ । यस्ता परम्परागत ज्ञान र सीपको नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यसले स्थानीय सांस्कृतिक पहिचानलाई खतरा पुर्याएको छ ।
बाजुरामा दशैँ–तिहारमा मात्र नभई विभिन्न मेला र देउडा जस्ता सांस्कृतिक कार्यक्रम पनि लोप हुँदै गएका छन्, जसले गर्दा स्थानीय संस्कृतिको जगेर्ना संकटमा परेको छ ।
स्थानीय तह र संस्कृतिकर्मीहरूले परम्परागत खेलकुद र संस्कृतिलाई बचाउन र प्रवद्र्धन गर्न विशेष पहल आवश्यक रहेको बताइरहेका छन् ।














