१३ असोज, काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा जेनजी (Gen Z) युवाहरू भ्रष्टाचार र आर्थिक नीतिको विरोधमा सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौं युवाले राष्ट्रपति दीना बोलुआर्ते र संसदविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरे।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। जवाफमा प्रदर्शनकारीले ढुङ्गा हानेर प्रतिरोध गरेका थिए। कतिपय युवाले सरकारी दमनको विरोधमा आगजनीसमेत गरेका छन्।
यो आन्दोलन सेप्टेम्बर २० मा पेन्सन प्रणालीमा गरिएको परिवर्तनपछि सुरु भएको हो। नयाँ नियमअनुसार, १८ वर्ष पूरा गरेका हरेक पेरूवासीले अनिवार्य रूपमा कुनै न कुनै पेन्सन कम्पनी/संस्थासँग जोडिनैपर्ने प्रावधान राखिएको छ। यस कदमलाई युवाले “जबरजस्ती असुली” भन्दै विरोध गरिरहेका छन्।
उनीहरूको मुख्य प्रश्न छ, “जब युवाहरूलाई रोजगारी नै छैन, तब पेन्सनका लागि पैसा कहाँबाट जम्मा गर्ने?” पेन्सन प्रदायक संस्थाहरूमा पहिले नै भ्रष्टाचार र पारदर्शिताको कमी रहेको आरोप लाग्दै आएको छ, जसले गर्दा युवाहरू यसलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउनुपर्ने माग गरिरहेका छन्।
यसका अतिरिक्त, भ्रष्टाचार, बढ्दो अपराध, आर्थिक असुरक्षा र सरकारमा जवाफदेहीको कमीले पनि युवाहरूलाई आक्रोशित बनाएको छ। सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेद्रो कास्तिलोलाई पदच्युत गरी गिरफ्तार गरिएपछि सुरक्षाबलको कारबाहीमा दर्जनौं प्रदर्शनकारीको ज्यान गएको थियो, जसको जवाफ सरकारले अझै दिन सकेको छैन।
यो आन्दोलनमा सहभागी १८ देखि २९ वर्ष उमेरका युवाले जापानको चर्चित एनिमे ‘वन पिस’का नायक ‘लूफी’लाई आफ्नो प्रतीक बनाएका छन्। प्रदर्शनकारीले ‘लूफी’को चिनारी मानिने खोपडी भएको झन्डा बोकेर हिँडेका छन्।
विद्यार्थी नेता लियोनार्डो मुन्योसले भन्नुभयो, “‘लूफी’ जहाँ-जहाँ गयो, त्यहाँका भ्रष्ट र तानाशाही शासकबाट जनता मुक्त भए। पेरूमा पनि उस्तै अवस्था छ। अब हामी चुप लागेर बस्दैनौं।” अर्का विद्यार्थी सान्टियागोले थपे, “हामी मृत्यु र भ्रष्टाचारलाई सामान्य जस्तै देखाउने अवस्थामा थाकिसकेका छौं। हाम्रो पुस्ता अब चुप लाग्ने छैन। सरकार जनतासँग डराउनुपर्छ, जनता सरकारसँग होइन।”
प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक जो-मेरी बर्टले पेरूमा लामो समयदेखि असन्तोष बढिरहेको र यो प्रदर्शन विश्वव्यापी रूपमा लोकतन्त्रमाथि बढ्दो दबाबको हिस्सा भएको बताउनुभएको छ। उहाँले यस अवस्थालाई १९९० को दशकको अल्बर्टो फुजिमोरी शासनसँग तुलना गर्नुभयो, जहाँ न्याय प्रणालीमाथि नियन्त्रण गरेर सत्तालाई बलियो बनाइएको थियो।
जुलाईमा प्रकाशित एक रिपोर्टअनुसार, राष्ट्रपति बोलुआर्तेको लोकप्रियता २.५ प्रतिशतमा झरेको छ भने संसदको विश्वसनियता ३ प्रतिशत मात्र रहेको छ।
यस आन्दोलनको असर पेरूको महत्वपूर्ण खानी उद्योगमा पनि परेको छ। विश्वको तेस्रो ठूलो तामा उत्पादक पेरूमा ‘हडबे मिनरल्स’ कम्पनीले प्रदर्शनका कारण आफ्नो ‘कन्स्टान्सिया’ खानीको मिल अस्थायी रूपमा बन्द गर्नुपरेको जनाएको छ, जसले देशको अर्थतन्त्रमा थप दबाब पार्ने देखिएको छ।














