१४ असोज, कञ्चनपुर। जब देशभर दशैंको रौनक छाउँछ, धेरैको मन नयाँ लुगा, मीठो परिकार र पारिवारिक भेटघाटको उल्लासले भरिन्छ। तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित वनहरा शिविरमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीका लागि दशैं उत्सव होइन, पीडा थपिने समय बनेको छ।
पूर्व–पश्चिम राजमार्ग नजिकैको यस शिविरमा बसोबास गरिरहेका २८ परिवारको दशैं वर्षौँदेखि चिसो, भोक र बेवास्ताबीच बित्दै आएको छ। उनीहरूका लागि दशैंका रीतिथिति मात्र सुन्ने कुरा बनेको छ — मनाउने हैसियत छैन।
‘दशैं हेरिरह्यौँ, बिताइएन’
६५ वर्षीया माथुदेवी दमाईं भन्छिन्, “कमाइ गर्ने जमिन छैन, उमेर पनि ढल्किँदै छ। मजदुरी पनि दिनदिनै पाइँदैन। एउटा दिन कमाएर हप्ताभरि गुजारा चलाउनु पर्दा दशैंको मिठो मसिनो सपना जस्तै हुन्छ।”
यस्तै, देउमती देवी बोहराको घरमा पनि दशैं खल्लो छ। “छोराहरू भारतमा छन्, दशैंमा फर्किएनन्। तिहारमा फर्किन्छु भनेका छन्,” उनी भन्छिन्, “दशैं भन्नु नै भोक, नांगोपन र बिर्सिएको पीडा हो।”
टालटुल झुपडी, त्रिपालभित्रको चिसो र पुलमुनिको रात
शिविरका अधिकांश झुपडीहरू वनहरा नदी किनारमा त्रिपाल र झुलले टालटुल पारेर बनाइएका छन्। त्रिपाल दातृ संस्थाले दिएका हुन्, तर गर्मीमा त्यसभित्र बस्नै नसकिने र वर्षामा चुहिने भएकाले धेरै परिवारहरू राति पुलमुनि सुत्न बाध्य छन्।
रञ्जित रावत भन्छन्, “कोही डोरीको खटियामा सुत्छौँ, कोही बोरी ओछ्याएर भुइँमै। ओढ्ने–बिछ्याउने केही छैन। लामखुट्टेले टोकेर रातभर सुत्नै सकिन्न।”
दलबहादुर बोहराको भनाइमा, “वर्षौं भयो पुलमुनि सुत्दै आएको, तर हाम्रो समस्या सुन्ने मान्छे छैन। वडादेखि नगरपालिकासम्म धायौँ, झुल, त्रिपाल, टर्च माग्यौँ, तर सुनुवाइ छैन।”
बिरामी हुँदा लैजाने मान्छे छैन, औषधि त टाढाको कुरा
शिविरमा वृद्धवृद्धा र बालबालिकाको संख्या धेरै छ। युवा मजदुरीका लागि भारत गएका छन्। बिरामी परेमा स्वास्थ्य चौकीसम्म लैजाने मान्छेसम्म नपाइने अवस्था रहेको छ।
“नयाँ लुगा त किनिएको वर्ष दिन नाघिसक्यो,” एक महिलाले भनिन्, “बिहान–साँझको छाक जुट्यो भने त आजको दिनलाई जितेको ठान्छौँ।”
सरकार मौन, भूमिहीनहरू दोहोऱ्याएर पीडामा
वनहरा शिविरका २८ परिवारले भूमि समस्या समाधान आयोगमार्फत जग्गा र आवासको माग गर्दै निवेदन दिएका छन्। तर, करीब दुई दशक बित्दासमेत उनीहरूलाई स्थायी बसोबासको सुनिश्चितता गरिएको छैन।
शुरुमा जनप्रतिनिधिले आश्वासन दिए पनि अहिले चुप लागेका छन्। “अब त माग्न जान पनि छाडेका छौँ,” शिविरवासीहरूको गुनासो छ।
‘दशैं खुसी ल्याउँछ भन्ने होइन, पुराना पीडा बल्झाउने बेला हो’
शिविरमा बसोबास गर्दै आएकाहरूको साझा पीडा हो – दशैं हरेक वर्ष आउँछ, तर उनीहरूको जीवनमा खुसी होइन, पीडाका घाउ बोकेर मात्र जान्छ।
“हामीलाई दशैंले खुशी ल्याउँछ भन्ने सपना देख्न पनि सक्दैनौं,” माथुदेवी दमाईंको भक्कानो छ।














