१५ असोज, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेकाले मौसममा परिवर्तन देखिएको हो।
महाशाखाले दिएको जानकारीअनुसार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थान, साथै बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। सो क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, मधेश प्रदेशका केही स्थान, र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना महाशाखाले जनाएको छ।
महाशाखाले नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमका विषयमा सचेत रहन समेत आग्रह गरेको छ।















