१५ असोज, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडको अवसरमा यात्रुबाट गैरकानूनी रूपमा बढी भाडा असुल्ने तथा टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्।
मन्त्री परिषद्को निर्णय विपरीत स्वीकृत भाडादरभन्दा बढी असुल गर्ने, टिकट बिक्रीमा अनियमितता गर्ने र यात्रुलाई अनावश्यक दुःख दिने जस्ता क्रियाकलापका गुनासा लगातार आइरहेको जनाउँदै उनले यस्ता अव्यवस्थित गतिविधि तत्काल रोक्न चेतावनी दिएका हुन्।
“हाल देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार बन्न जरुरी छ। यात्रुलाई अनावश्यक दुःख दिई चाडबाडलाई कमाउने अवसरका रूपमा प्रयोग नगर्नुहोस्,” मन्त्री घिसिङले भने, “स्वीकृत भाडादरभन्दा बढी असुल्ने, टिकटमा कालोबजारी गर्ने जस्ता गैरकानूनी कार्य सह्य हुँदैन। यस्ता कार्यमा संलग्नहरूलाई तत्कालै कारबाही गरिनेछ।”
मन्त्री घिसिङले यात्रुहरूलाई पनि सजग रहन आग्रह गर्दै अनियमित शुल्क असुल्ने वा टिकटमा कालोबजारी गर्ने व्यवसायी देखिएमा नजिकैको प्रशासन वा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरे।
उनका अनुसार मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै यात्रुहरूको सुविधा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर अनुगमनलाई तीव्र पारेको छ।
मन्त्रीले यातायात व्यवसायीलाई यात्रुको सहज यात्रा सुनिश्चित गर्न र स्वीकृत कानूनी प्रावधानअनुसार सेवा प्रवाह गर्न आह्वान गर्दै भने, “चाडबाडमा यात्रुको विश्वास जित्न जिम्मेवार र शुद्ध व्यवसायिकता जरुरी छ।”















