Logo

सांकेतिक तस्वीर

१७ असोज, काठमाडौँ । आजदेखि सोमवारसम्म मनसुन थप सक्रिय भई देशका विभिन्न स्थानमा मुसलधारे वर्षा र कतिपय ठाउँमा आरिघोप्टे वर्षा हुने पूर्वानुमान गरिएपछि विपद् व्यवस्थापनका तयारी तीव्र पारिएको छ। सम्भावित खतरालाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विहिबार उच्च अधिकारीसहित देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक सम्पन्न गरेको हो।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले आवश्यक पूर्वतयारी गरी विपद् व्यवस्थापनमा सतर्क रहन निर्देशन दिए । उनले मानवीय क्षति न्यून गर्न उद्धार तथा राहत कार्यमा तत्पर रहनुका साथै जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरे ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि सोमवारसम्म विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मुसलधारेदेखि आरिघोप्टे वर्षा हुने सम्भावना देखिएको छ।

गृह सचिव रामेश्वर दंगालले आवश्यकता अनुसार राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्न, ट्रेकिङ गतिविधि रोक्न र उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिए।

प्राधिकरणले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहटका नदीहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको चेतावनी दिएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा आउँदो मंगलवारसम्म रातिको समयमा सवारी साधन चलाउन रोक लगाएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौंडा–भैंसे सडक खण्डमा आजदेखि तीन दिनसम्म रातिको समयमा यातायात सञ्चालन नगर्न आदेश जारी गरेको छ।

वर्षासँगै सम्भावित बाढी, पहिरो र आकस्मिक दुर्घटनाको जोखिम बढ्ने देखिएकाले सम्बन्धित निकायहरूले सतर्कता अपनाउन र आम नागरिकलाई सचेत रहन अपील गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै