Logo

१७ असोज, काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको तोडफोड तथा आगजनीबाट मुलुकका सरकारी र निजी भौतिक संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ। अर्थविद्हरूका अनुसार यस घटनाबाट झन्डै ३ खर्ब ९० अर्ब बराबरको क्षति भएको अनुमान छ, जुन देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को पाँच प्रतिशतभन्दा बढी हो।

आर्थिक विज्ञहरूले यस्तो क्षतिको भरपाई गर्न विगतका वर्षमा जस्तै चार प्रतिशतको दरले आर्थिक वृद्धि गर्ने खण्डमा पनि कम्तीमा आठ वर्ष लाग्ने अनुमान गरेका छन्।

भदौ २३ गतेको आन्दोलनपछि २४ गते संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालतलगायतका ऐतिहासिक तथा संवैधानिक निकायका संरचनामाथि आक्रमण भएको थियो। त्यसैगरी सयौं प्रहरी चौकी र विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।

निजी क्षेत्रसमेत यस घटनाबाट अछुतो छैन। भाटभटेनी सुपरस्टोरको मुख्यालयदेखि २१ वटा शाखा, चौधरी ग्रुपको सिजि डिजिटल पार्क, चन्द्रागिरी केबलकार, हिल्टन होटलसहित अन्य निजी उद्योग, व्यावसायिक प्रतिष्ठान र पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

यद्यपि कुल क्षतिको यकिन तथ्यांक अझै संकलन भइनसकेको सरकारी अधिकारीहरूले जनाएका छन्। प्रारम्भिक तथ्यांककै आधारमा समेत यो क्षति मुलुकको अर्थतन्त्रका लागि गम्भीर धक्का सावित हुने देखिएको छ।

आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको समाचार अन्तर्राष्ट्रिय स्तरमा पुगेसँगै पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको छ। विदेशी पर्यटकले होटल र ट्राभल बुकिङहरू रद्द गर्न थालेका छन्, जसले आगामी दिनमा पर्यटन आम्दानीमा गिरावट ल्याउने अर्थविद्हरूको चेतावनी छ।

विशेषज्ञहरूले राजनीतिक अस्थिरता र आन्दोलनका क्रममा भएको ठूलो भौतिक क्षतिको असर दीर्घकालीन हुने भन्दै तत्काल स्थिरता कायम गरी अर्थतन्त्र पुनःस्थापनाका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै