१८ असोज, काठमाडौँ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव अहिले देशभर रहेका कारण विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहानैदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशभर सामान्यतया बदली रहने क्रम जारी रहनेछ।
आज दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। विशेषतः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा, साथै अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यस क्रममा, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने देखिएको छ। यस्तै, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा धेरै भारी वर्षा हुने सम्भावनासमेत रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। यी प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले विशेषगरी प्रभावित हुने सम्भावना रहेका प्रदेशका वासिन्दा, यात्रु तथा सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो र सडक अवरुद्ध हुने खतरा भएकाले पछिल्लो मौसमी सूचना लिएर मात्रै यात्रा गर्न महाशाखाले सुझाव दिएको छ।















