Logo

१८ असोज,डोरी । बाली लगाउने सिजन सुरु भएसँगै सुवर्णपुर र आसपासका क्षेत्रमा खेतमा जडान गरिएका पानी तान्ने मोटर चोरीको घटना दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्ला दुई सातामा मात्रै ४ वटा मोटर चोरी भएका छन्, जसले स्थानीय कृषकहरूलाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ।

शुक्रबार राति सानो बाघमोर्चाकी भारती सुनुवारको खेतबाट मोटर चोरी भएको घटना सार्वजनिक भएको छ। वडाध्यक्ष अस्ट बहादुर लोप्चनका अनुसार, उक्त खेत सशस्त्र प्रहरीको सुवर्णपुर गुल्मबाट मात्र १५० मिटर टाढा रहेको भए पनि चोरी हुनुले समग्र क्षेत्रमा सुरक्षा प्रति गम्भीर प्रश्न उठाएको छ।

दुई सातामै चार मोटर चोरी

यसअघि पनि सोही क्षेत्रका लव बहादुर सुनुवार र टङ्क उप्रेतीका खेतबाट मोटर चोरी भइसकेको छ। त्यस्तै, सानो बाघमोर्चासँग सिमाना जोडिएको मालीवस्तीबाट नरेश कोइरीको खेतबाट पनि मोटर चोरी भएको पुष्टि स्थानीय युवा किरण पाण्डेले गरे।

केही महिनाअघि बाघमोर्चाकै हुलाकी सडक छेउमा रहेको खेतबाट सुनिल सुनुवारको मोटर चोरी भएको थियो। वडाध्यक्ष लोप्चनका अनुसार कतिपय किसानले मोटर सुरक्षाका लागि फलामे साङ्लो प्रयोग गरे पनि ग्रिन्डर मेसिनले काटेर चोरी गर्ने गिरोह सक्रिय देखिएको छ।

लगातार मोटर चोरीको घटना घटिरहँदा कृषकहरू खेतीपातीको समयमा सिचाइ समस्यामा परेका छन्। साथै, चोरहरूको हिम्मत यसरी बढ्नु र सशस्त्र प्रहरी नजिकैबाट समेत मोटर चोरी हुनुले स्थानीयमा व्यापक असन्तोष फैलिएको छ।

सुवर्णपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) राजु पाख्रिनका अनुसार, आफू आएयता दुईवटा चोरीको उजुरी परेको छ। उनले चोरी नियन्त्रणका लागि रातको समयमा मोटरसाइकल गुड्ने बाटोहरूमा गस्ती बढाइएको भए पनि खेतको दुर्गम कुनाबाट चोरी हुने भएकाले नियन्त्रणमा कठिनाइ भएको बताए।

उनले चोरी नियन्त्रणका लागि प्रहरी मात्र नभई स्थानीयवासी पनि चनाखो हुनुपर्नेमा जोड दिँदै, समुदाय र प्रहरीबीच समन्वयमा मात्र यस्तो आपराधिक क्रियाकलाप रोक्न सकिने बताए।

स्थानीयवासीले खेत क्षेत्रमा निगरानी बढाउन, रात्रीगस्तीलाई थप प्रभावकारी बनाउन र चोरी नियन्त्रणका लागि विशेष रणनीति लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। सिजनको बेला सिचाइका लागि अत्यावश्यक मोटर चोरी हुँदा कृषकहरूको उत्पादनमा प्रत्यक्ष असर पर्ने भन्दै चाँडोभन्दा चाँडो कारबाही र रोकथामको माग तीव्र बन्दै गएको छ।


सम्बन्धित समाचार