१९ असोज, सुनसरी । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेपछि जल तथा मौसम विज्ञान विभागले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आइतबार बिहान ५ बजे सार्वजनिक गरेको बाढीसम्बन्धी विशेष सूचनामा निरन्तर वर्षाका कारण सप्तकोसीमा पानीको सतह बढ्दै गएको र आज बेलुकासम्म बाढीको जोखिम अझ बढ्न सक्ने उल्लेख गरेको छ।
सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले आज बेलुकासम्म बाढी बढ्ने सम्भावना छ। बाढी तथा डुबानका जोखिमयुक्त क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन अनुरोध छ।”
विभागले कोसी नदी आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न, स्थानीय प्रशासन तथा सम्बन्धित निकायका निर्देशनहरू पालना गर्न र नदी किनार तथा पुलहरू नजिक नजान आग्रह गरेको छ।
हाल पनि पूर्वी नेपालका कोसी, बागमती र गण्डकी प्रदेशका थुप्रै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार निरन्तर वर्षा जारी रहेकाले नदीमा पानीको सतह अझ उक्लन सक्ने र तटवर्ती क्षेत्रमा डुबानको जोखिम बढ्ने सम्भावना रहेको छ।