१९ असोज, काठमाडौं । शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाले जनजीवन प्रभावित पार्दै गर्दा पनि देशभर मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिनदेखि सुरु भएको टीका–जमरा लगाउने परम्परा आगामी सोमबार, असोज २० गते कोजाग्रत पूर्णिमासम्म निरन्तर रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
नेपालमा आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म मनाइने बडादसैँ पर्व हिन्दूहरूको महान् पर्वका रूपमा हरेक वर्ष धूमधामका साथ मनाइन्छ। वैदिक परम्परा अनुसार आश्विन शुक्ल प्रतिपदाका दिन दसैँ घरमा घटस्थापना गरी नवदुर्गा भवानीको पूजाआराधना आरम्भ गरिन्छ। त्यसपछि विजयादशमीका दिन देवी विसर्जनसँगै घडामा उमारिएको जमरा र प्रसादस्वरूप टीका लगाउने परम्परा सुरु हुन्छ।
परिवारका सदस्यहरू तथा आफन्तजन टाढा रहेका कारण कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्ने चलन प्रचलित छ। शास्त्रीय दृष्टिले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ।
तर यस वर्ष भने दशैंको समय निरन्तर वर्षाले प्रभावित बनेको छ। शुक्रबार बेलुकीदेखि देशका विभिन्न भागमा लगातार वर्षा भइरहेको छ, जसले लामो दूरीका यात्रामा अवरोध पुर्याएको छ। भारी वर्षाको कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा घोषणा गरेको छ भने राजधानी काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने सवारीसाधन आवागमन अस्थायी रूपमा रोक लगाइएको छ।
यद्यपि प्रतिकूल मौसमबीच पनि श्रद्धालुहरू नजिकका मान्यजनकहाँ पुगेर देवीको प्रसाद थाप्ने र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। मौसम सामान्य बन्दै गएपछि बाँकी रहेका आफन्तकहाँ टीका थाप्ने क्रम आगामी सोमबारसम्म निरन्तर चल्ने समितिको पूर्वानुमान छ।















