Logo

१९ असोज, काठमाडौं । दुई दिनसम्मको अविरल वर्षाका कारण भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई आज साँझ चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ। रुपन्देही जिल्ला प्रशासन कार्यालयले आज राति ९ बजे आकस्मिक रूपमा काठमाडौं पुग्नुपर्ने यात्रुहरूलाई नेपाल एयरलाइन्सको विशेष विमानमार्फत उद्धार गर्ने योजना बनाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेका अनुसार, विशेषगरी वैदेशिक रोजगारी जानुपर्ने र उपचारका लागि अलपत्र परेका करिब १५८ जना यात्रुहरूलाई काठमाडौं पठाइनेछ।

सीडीओ पाण्डेले भने, “भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्या बारे जानकारी गराउन प्रशासनले अपिल गरेको छ।”

यात्रुहरूले टिकट तथा थप जानकारीका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थीसँग (९८५७०२३६७१) सम्पर्क गर्न सक्ने प्रशासनले जनाएको छ।

नेपाल एयरलाइन्सको नियमित विमान काठमाडौंबाट साँझ ७ बजे भैरहवा आइपुग्ने र सोही विमानमार्फत यात्रुहरूलाई फिर्ता काठमाडौं ल्याउने तयारी गरिएको छ।


सम्बन्धित समाचार